क्षयरोग / टीबी
परिचय :
क्षयरोग (टीबी, TB) माइकोब्याक्टेरियम ट्युबरकुलोसिस(Mycobacterium tuberculosis) नामक ब्याक्टेरियाबाट हुने एक प्रकारको सरुवा रोग हो । यो शरीरका कुनै पनि भागमा हुन सक्ने भए पनि फोक्सोमा हुने सम्भावना बढी हुन्छ । फोक्सोमा हुने क्षयरोगलाई पल्मोनरी टीबी (Pulmonary TB) अर्थात् फोक्सोको क्षयरोग भनिन्छ । क्षयरोग हुने अन्य अंगहरुमा हाड, लिम्फ ग्रन्थी, मिर्गौला, पाठेघर, मस्तिष्क (मेनिन्जीस्), छाला इत्यादि हुन् ।
क्षयरोगीले खोक्दा वा छिम्दा निस्केका पानीका मसिना छिटाहरु सास सँगै भित्र छिरे भने यो एक क्षयरोगी बाट अर्को स्वस्थ मानिसमा सर्दछ । बढी भीड भएको ठाउँमा वा बढ्ता आद्र्ता भएको ठाउँमा यो सर्ने सम्भावना बढ्ता हुन्छ । यस रोगका ब्याक्टेरियाहरु फोक्सो मा प्रवेश गरेपछि सो व्यक्तिमा क्षयरोग का प्रारम्भिक लक्षणहरु देखा पर्दछन् जसलाई प्राथमिक क्षयरोग भनिन्छ । तर यसले कुनै उल्लेखनीय प्रभाव पार्दैन । किनकि शरीरको प्रतिरोध शक्तिका कारण ती ब्याक्टेरियाहरुलाई कुनै निश्चित ठाउँमा सीमित गर्ने काम हुन्छ, जसलाई घोन्स फोकस (Ghon’s focus) भनिन्छ, जहाँ ती ब्याक्टेरियाहरु लामो समयसम्म सुषुप्त अवस्थामा रहन्छन् । पछि शरीरको प्रतिरोध शक्ति कमजोर भएका बेला ती ब्याक्टेरियाहरुले पुनः शरीरमाथी दुष्प्रभाव देखाउने सम्भावना हुन्छ, त्यसलाई द्वितीय चरणको (secondary) क्षयरोग भनिन्छ जुन धेरैजसो वयस्क मानिस मा देखिन्छ । विकासोन्मुख मुलुक मा रहेको ठूलो जनसंख्या क्षयरोग का किटाणुको सम्पर्कमा आइसकेका हुने हुँदा तिनमा क्षयरोगका ब्याक्टेरियाहरु निष्क्रिय रूप मा बसिरहेका हुन्छन् र शरीर को कमजोरी बढ्नासाथ सक्रिय बनेर क्षयरोग को द्वितीय चरण का अर्थात् पुनर्सक्रिय चरण का लक्षणहरु देखा पर्दछन् । विकसित मुलुक मा भने यो रोग विरलै भेटिन्थ्यो तर एचआईभी एड्स को प्रसारण पछि यसका रोगी को संख्या पनि बढ्न थालेको छ ।
क्षयरोग को प्राकृतिक क्रम :
क्षयरोग का दुई अवस्था छन्–
१. निष्क्रिय (गुप्त) क्षयरोग : एकचोटि क्षयरोग का जीवाणुाबाट संक्रमित भए पछि कहिल्यै पनि ती बाट मुक्ति मिल्दैन । ती जीवाणुहरु कुनै पनि प्रभाव नपारीकन, लक्षण नदेखाईकन फोक्सो को कुनै निश्चित स्थान मा निष्क्रिय रूप ले रहिरहन्छन् । त्यसलाई ल्याटेन्ट टीबी अर्थात् गुप्त क्षयरोग भनिन्छ । जब शरीर को रोग प्रतिरोध क्षमता शक्ति घट्छ तब यी सक्रिय हुने खतरा बढ्छ । त्यसैले लक्षण नदेखिए पनि भविष्य मा हुन सक्ने खतरा लाई ध्यान मा राखेर यस किसिम को गुप्त क्षयरोग को पनि जाँच गरेर उपचार गर्नु आवश्यक हुन्छ । छ महिना सम्म आइजोनायजिड (Isoniazid) द्वारा यसको उपचार गरिन्छ । यो अवस्था मा क्षयरोग ले सरुवा स्वभाव देखाउँदैन ।
२. सक्रिय क्षयरोग : जब क्षयरोग का संकेत र लक्षणहरु देखिन थाल्छन् त्यसलाई सक्रिय क्षयरोग भनिन्छ । यो कहिलेकाहीं निष्क्रिय अवस्था मा जानुभन्दा अगावै क्षयरोग का जीवाणु सँग संपर्क मा आउनासाथ देखिन सक्छ भने कहिलेकाहीं क्षयरोग का जीवाणु सँग संपर्क मा आएको वर्षौं पछि मात्र देखिन सक्छ । यो अवस्था मा क्षयरोग ले सरुवा स्वभाव देखाउँछ ।
सक्रिय क्षयरोग का लक्षणहरु :
क्षयरोग भएका मानिसहरु मा निम्न प्रकार का लक्षणहरु देखिन्छन्–
- दुई हप्ताभन्दा लामो समयसम्म खोकी लागिराख्नु
- खकार मा रगत देखिनु
- साँझपख सामान्य ज्वरो
- रात को समय मा धेरै पसिना आउनु
- छाती को दुखाई महसूस हुनु
- तौलमा गिरावट आउनु
- रक्ताल्पता हुनु
- अरुची तथा वेचैनी सँगै सामान्य कमजोरी तथा सो संग जोडिएका लक्षण देखिनु
कारण तथा जोखिमका अवस्थाहरु :
अधिकांश अवस्थाहरु मा क्षयरोग को प्रमुख कारक भनेको माइकोब्याक्टेरियम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) नै हो । तर अरु ब्याक्टेरियाहरु माइकोब्याक्टेरियम बोभिस (Mycobacterium bovis) र माइकोब्याक्टेरियम अफ्रिक्यानम (Mycobacterium africanum) पनि केही विशेष अवस्था मा जिम्मेवार भेटिएका छन् । तलका स्थितिहरु मा क्षयरोग ले थप जोखिम पैदा गर्ने सम्भावना रहन्छ–
- उमेर : बच्चा र वृद्धहरु संक्रमण को जोखिम बढी हुन्छ ।
- एचआईभी एड्स, क्यान्सर इत्यादि रोग द्वारा ग्रसित मानिसहरु मा रोग प्रतिरोध क्षमता शक्ति कम हुन गई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।
- क्षयरोग को उच्च जोखिम मा रहेको मुलुक बाट पहिलो पुस्ताका रूप मा अन्यत्र आप्रवासी बन्नु
- कुपोषण हुनु
- फोक्सो का क्षयरोगी सँग बढी सम्पर्क मा रहनु
- खुला वातावरण को अभाव हुनु : जस्तो कि जेल (कारागार), सामूहिक आवासगृह
डाक्टर लाई कहिले देखाउने ?
- दुई हप्ता भन्दा बढी समयसम्म खोकी लागिरह्यो भने
- खकारमा रगत देखियो भने
- तौल घटाउन नखोज्दा पनि अचानक तौल घट्न थाल्यो भने
- खोक्दा छाती दुख्न थाल्यो भने
- हप्तादिन भन्दा लामो समयसम्म लगातार सामान्य ज्वरो आइरह्यो भने
क्षयरोग का जटिल अवस्थाहरु :
- खोक्न खोज्दा मुख बाट रगत आउने
- फोक्सो का कारण ले हुने हृदयरोग
- विशेष प्रकारको माइकोब्याक्टेरियल संक्रमण
- एस्परजिलोमा
- फोक्सो तथा प्लुरल क्याल्सिफिकेशन, जुन एक्स–रे मा देख्न सकिन्छ
- ब्रोन्कियाक्ट्यासिस
- ब्रोंकोप्लुरल फिस्टुला (फोक्सो मा प्वाल पर्नु)
उपचार का उपायहरु :
माथि उल्लेख गरिएका लक्षणहरु भएको विरामीमा रहेको सक्रिय क्षयरोग छातीको एक्स रे जाँच र खकार को सूक्ष्मदर्शक यन्त्र बाट परीक्षण गरेर सजीलै पत्ता लाग्दछ । यसलाई स्मीयर पोजिटिभ टीबी भनिन्छ र यो निकै सरुवा खालको हुन्छ । कहिलेकाहीं सूक्ष्मदर्शक यन्त्र मा सोझै देखिएन भने पनि ती जीवाणुहरु लाई कल्चर को माध्यम ले वृद्धि गरी पत्ता लगाउन सकिन्छ । यस्तोलाई कल्चर पोजिटिभ टीबी भनिन्छ । यदि क्षयरोग हुँदाहुँदै पनि ब्याक्टेरियाहरु (जीवाणुहरु) न त सूक्ष्मदर्शक यन्त्रमा न कल्चरमा दुवैमा देखिएन भने यसलाई कल्चर नेगेटिभ भनिन्छ र त्यो सरुवा हुँदैन ।
निष्क्रिय क्षयरोगलाई पीपीडी भनिने छालाको जाँचबाट वा क्वान्टिफेरन जाँच भनिने रगतको जाँचबाट पत्ता लगाउन सकिन्छ ।
निष्क्रिय र सक्रिय दुवै प्रकारका क्षयरोगको उपचार आवश्यक हुन्छ । निष्क्रिय क्षयरोगलाई छ महीनासम्म एकै प्रकारको औषधि खाएर निको पार्न सकिन्छ भने सक्रिय क्षयरोगलाई ३–४ थरीका औषधिहरु मिलाएर ६–९ महीनासम्म खाएर निको पार्न सकिन्छ । दिइएको पूरा मात्रा तोकिएको समयसम्म नियमित खाएपछि मात्रै क्षयरोग निको हुन्छ । कसैकसैमा औषधिलाई प्रतिरोध गर्ने क्षयरोगको विकास पनि हुन सक्दछ, जसलाई मल्टीड्रग रेजिष्टेन्ट टीबी (Multidrug Resistant TB) वा एक्सटेन्डेड रेजिष्टेन्ट टीबी (XDR TB) भनिन्छ । यस्तो क्षयरोगको उपचार गर्न निकै गाह्रो हुन्छ ।
क्षयरोग सम्बन्धी औषधिहरु नेपाल सरकारले डट्स DOTS (directly observed treatment short course) कार्यक्रम मार्फत निःशुल्क वितरण गर्दै आइरहेको छ ।
- आइसोनियाजिड, रिफाम्पिसिन, पायराजिनामाइड, इथाम्बुटल को संयुक्त रुपमा प्रयोग गरिन्छ । आवश्यक परेको खण्डमा स्ट्रेप्टोमाइसिन इन्जेक्शनको पनि उपयोग गर्न सकिन्छ ।
- कुन कुन औषधिको संयुक्त प्रयोग गर्नुपर्छ भन्ने कुरा विरामीको राम्ररी जाँच गरे पछि निश्चित गरिन्छ ।
- उपचारको अवधि, योजना अनुरुप छोटो हुन्छ भनिए पनि, ६ देखि १२ महिनासम्म लम्बिन सक्छ र कहिलेकाहीं क्षयरोग को प्रकार र अवस्था हेरेर त्यो भन्दा पनि लामो हुन सक्छ ।
- सक्रिय फोक्सो को क्षयरोग हो भन्ने जान्नासाथ उपचारको आरम्भ गरिहाल्नु पर्छ र अरुलाई नसरोस् भन्नका लागि मास्कको प्रयोग गर्नु पर्छ । औषधि सेवन गर्न थालेको दुई हप्ता पछि सर्ने सम्भावना कम हुँदै जान्छ ।
- औषधिको सेवन गर्दा दिइएको संयोजनलाई सतकर्तापूर्वक पालना गर्नु पर्छ, अन्यथा क्षयरोगमा औषधि प्रतिरोधी गुणको विकास हुन गई उपचार गर्न कठिन हुन सक्छ । डट्सको रणनीति नै विरामीले औषधिको नियमित सेवन गरोस् भन्ने हुनाले यस उपचारमा परिवारको कुनै सदस्यलाई विरामीले औषधि खाए नखाएको हेर्ने जिम्मेवारी दिइएको हुन्छ ।
- नेपाल सरकारले क्षयरोगबाट बचाउन नवजात शिशुहरुलाई बीसीजीको खोप लगाउने गरेको छ ।
- WHO ले आवश्यक पोषण मिल्ने गरी खानपान मिलाएमा क्षयरोग लाग्ने सम्भावना न्यून हुने बताउँछ । यदि शरीरको आवश्यक पोषण स्तर कायम रहन सक्यो भने रोग प्रतिरोधी क्षमता शक्तिको ह्रास हुँदैन ।
स्रोत :-
निरोगी नेपाल
संपरीक्षक: दिनेश धरेल
No comments:
Post a Comment