Tuesday 17 October 2017

प्रा. डा. दिव्यासिंह शाह, 
मिर्गौला रोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल

मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ। राज्यले पछिल्लो समय मिर्गौलाको उपचारमा राम्रो सहयोगको व्यवस्था गरेको छ। यद्यपि मिर्गौला सम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको संख्यामा उल्लेख्य रुपमा कमी आएको छैन।
मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ। सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्ववद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि मिर्गौला फेल भएका धेरैले दोस्रो जीवन पाए। हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पताल अन्तर्गत ग्रान्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ। मिर्गौला प्रत्यारोपण महँगो र जटिल उपचारविधि हो। मिर्गौलाको उपचार विधिबारे बुझ्नुभन्दा पहिले हामीले मिर्गौलाले शरीरमा के काम गर्छ भन्ने कुरा बुझ्न जरुरी छ।
मिर्गौलाको काम
मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने काम गर्छ। हामीले खाना खाएपछि शरीरमा जुन ऊर्जा प्राप्त हुन्छ त्यस क्रममा निस्कने ‘बाइप्रोडक्ट’लाई सफा गर्नुपर्ने हुन्छ। त्यस्ता बाइप्रोडक्टलाई मेडिकलको भाषामा ‘नाइट्रोजिनस टक्सिन’ भनिन्छ। यस्ता टक्सिन शरीरभित्रै रहेमा मानिस बेहोस हुने र शरीरका विभिन्न अङ्गमा असर गरेर मृत्युसमेत हुन सक्छ। त्यस्ता टक्सिनलाई स्वस्थ मिर्गौलाले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। त्यस्तै मिर्गौलाले शरीरको पानी र लवणहरुलाई सन्तुलनमा राख्छ। मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा शरीरबाट पिसाबकोरुपमा निकाल्ने काम गर्छ। यसले शरीरमा लवणहरुलाई सन्तुलित मात्रामा मिलाएर राख्ने काम गर्छ। मिर्गौलाले शरीरको पिएच अर्थात अम्लियपनालाई सन्तुलनमा राख्छ। मिर्गौलामा हुने एक विशेष प्रकारको हर्मोनले शरीरमा रातो रक्तकण बनाउन मद्दत गर्छ र हड्डी मजबुत राख्ने काम पनि गर्छ।
के छ उपचार?
जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ ,यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ। मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ। एउटा कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नु जसलाई डायलाइसिस भनिन्छ। डायलाइसिस पनी दुई तरिकाको हुन्छ, हेमो डायलाइसिस र पेरिन्याटिकल डायलाइसिस।
त्यस्तै, दोस्रो तरिका मृर्गौला प्रत्यारोपण हो। मृर्गौला प्रत्यारोपण भन्नाले अर्को व्यक्तिको एउटा मिर्गौला झिकेर बिरामीमा जोड्नु हो। प्रत्यारोपणमा जोड्नुपर्ने मिर्गौला तल्लो पेटको दाहिने वा देब्रे भागमा राखिन्छ। यसका रक्तनली खुट्टातिर जाने रक्तनलीहरुसँग जोडिन्छ र पिसाब नलीलाई पिसाब थैलीमा जोडिन्छ। प्रत्यारोपण गरिएको मिर्गौला बचाई राख्नका लागि आजीवन औषधि खानुपर्ने हुन्छ।
मिर्गौला प्रत्यारोपण गर्दा तल्लो पेटको दायाँ वा वायाँ भागमा जडान गरिने भएकाले बिग्रिएको मिर्गौलालाई निकाल्नु पर्दैन। तर, बिग्रिएको मिर्गौलामा संक्रमण भएको खन्डमा वा अत्याधिक सुन्निएको भए शल्याक्रिया मार्फत निकाल्नुपर्ने हुन्छ। मिर्गौला फेल हुन थालेपछि तुरुन्तै लक्षण नदेखीन सक्छ । ८० प्रतिशत मिर्गौलाले काम गर्न छोड्दा पनि लक्षण नदेखिन सक्छ। अन्तिम अवस्थामा लक्षण पत्ता लाग्नु नै यो रोगको मुख्य चुनौती हो। प्रत्यारोपण गर्नु मात्र गाह्रो कुरा होइन। त्यसपछि पनि मिर्गौलालाई र बिरामीलाई बचाई राख्नु चुनौतीपुर्ण हुन्छ । मिर्गौला प्रत्यारोपणमा सबैको दाता नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने वाध्यता छ।
फेल हुने कारण
मिर्गौला फेल हुने कारणहरु धेरै छन्। त्यसमध्ये यी प्रमुख कारणबारे जानकारी राख्नु उचित हुन्छ।
१. क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस
यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो। यसको समयमै उपचार गरिएन भने बिस्तारै यसले मिर्गौलालाई खराब गर्दै जान्छ।
२. मधुमेह
मधुमेह नियन्त्रणमा आउन नसके यसले साना रक्तनलीलाई खराब गर्छ। यसले विस्तारै आँखा, मुटु, मस्तिष्क लगायतका अङ्गमा असर पुर्‍याएजस्तै मिर्गौलालाई पनि खराब गर्छ।
३. उच्च रक्तचाप
मिर्गौला फेल हुनुको मुख्य कारण मध्ये उच्च रक्तचाप पनि एक हो। रक्तचाप नियन्त्रण भएन भने पनि यसले मिर्गौलामा गम्भीर असर गर्छ र दुवै मिर्गौला फेल हुन सक्छन्।
४. पत्थरी
मिर्गौलामा पत्थरी भएमा यसले मिर्गौलाको नियमित काममा बाधा पुर्‍याउँछ, जसले गर्दा मिर्गौला फेल पनि हुन सक्छ।
५. वंशाणुगत
केही व्यक्तिमा मिर्गौलाको रोग वंशाणुगत पनि हुने गर्छ। परिवारका कुनै सदस्यलाई मिर्गौला रोग भएमा अन्य सदस्यमा पनि मिर्गौला सम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ। वंशाणुगत समस्याका मुख्य कारणहरु विशेष गरी दुई प्रकारका हुन्छन्
(क) एडल्ट पोलिसिस्टिक किड्नी डिजिज
जिनमा गडबडी आएर मिर्गौलामा धेरै फोकाहरु बन्न थाल्छन्। ती फोकाले मिर्गौलाका तन्तुहरुलाई नास गर्छन् र मिर्गौलामा खराबी आउँछ। यसरी मिर्गौलामा समस्या ल्याउने एडल्ट पोलिसिस्टिक किड्नी डिजिज वंशाणुगत हुन्छ।
(ख) अल्पोर्ट सिन्ड्रोम
अल्पोर्ट सिन्ड्रोम पनि एक वंशाणुगत रोग हो। यसका कारण मिर्गौला खराब हुने मात्र होइन आँखा नदेख्ने र कान नसुन्ने समस्या पनि हुन्छ।
६. दुखाइ कम गर्ने औषधिको प्रयोग
दुखाइकम गर्ने औषधीको प्रयोगले मृर्गौलालाई खराब गर्छ । यस्तो खालको औषधीको सेवन गर्दा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । अन्दाजका भरमा फार्मेसीबाट जथाभावी यस्ता औषधी प्रयोग गर्नाले धेरै मृर्गौला,मुटु र पेटमा असर गर्छ ।
७. एन्टिवायोटिकको प्रयोग
दुखाइकम गर्ने ‍औषधीको प्रयोग झै एन्टिवायोटिकको जथाभावी प्रयोगले पनी मृर्गौला असर गर्छ
८. पिसाबनलीमा अवरोध आएमा
पिसाबनलीमा विभिन्न कारणले अवरोध आउन सक्छ,कहीले काही मृर्गौलामा हुने पत्थरीका कारण पनी पिसाब नली अवरुद्ध हुन सक्छ भने कहीले काही पिसाब नलीमा हुने संक्रमणका,प्रोस्टेट ,ट्यूमर आदी कारण पनी अवरोध आउन सक्छ । पिसाबनलीमा निरन्तर अबरोध रहेमा यसले मृर्गौला खराब हुन्छ ।
९. मोटोपना भएमा
मोटोपना भएकाहरु मिर्गौला रोगको उच्च जोखिममा गनिन्छन् । मोटोपनाले शरीरमा उच्च रक्तचाप,मधुमेह बढाउँछ र अन्त्यमा मिर्गौला खराब हुन्छ ।
मिर्गौला रोगका लक्षणहरु
१. पिसाबको रङमा परिवर्तन आउनु। धमिलो हुनु वा पिसाब पोल्नु।
२. आँखाको डिल सुन्निनु।
३. खानामा रुची घट्दै जानु।
४. शरीर दुब्लाउँदै जानु।
५. दुवै तर्फका कोखाहरु दुख्नु।
६. खुट्टा सुन्निनु।
७.थकाइ लाग्नु ।
८.सास फेर्न गार्हो हुनु ।
कसरी हुन्छ त मृगौला खराब ? जानिराखौँ यसका बारेमा केही महत्वपूर्ण जानकारी:
१- पानी कम पिउने यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।
२- नून बढी खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।
३- पिसाव रोक्ने यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।
४- गुलियो खाने बानी यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।
५- पोषणको अभाव शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन-ट र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।
६- मासु बढी खाने मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ।
७- अनिद्रा रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८- चिया कफी बढी सेवन चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
९- पेनकिलर सेवन टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस्। धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ।
१०-जाँड रक्सी अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।
प्रस्तुतिः पारसविक्रम शाही

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...