Thursday 14 September 2017


च्याउ सम्बन्धि जानकारी


च्याउ एक प्रकारको उच्च वर्गको ढुसी हो । यो धर्तीमा उत्पत्तिको हिसाबले च्याउ मानवजाति भन्दा पुरानो मानिन्छ । भनिन्छ, आदिम मानवले पनि च्याउ सेवन गर्थे । च्याउको बारेमा विभिन्न प्राचिन धर्मशास्त्र र श्रुतिहरूमा उल्लेख भएको पाइन्छ । ग्रिक र रोमन साम्राटहरूको लागि च्याउ शाही व्यञ्जनको रूपमा प्रयोग भएको कुरा र यसको खाद्य महŒवका बारे महान ग्रिक दार्शनिक थेओफ्रास्टसद्वारा लिखित कृतिहरूमा उल्लेख भएको पाइन्छ । त्यस्तै गरी इजिप्ट निवासीहरूले पनि च्याउलाई प्यारोह (प्राचीन इजिप्टको राजा) को खाना अर्थात शाही व्यञ्जनका रूपमा चिन्थे । ऋग्वेदमा सोमरसको चर्चा भएको पाइन्छ । सोमरस एउटा पवित्र पेय पदार्थ हो, जुन आर्यहरूले पूजाको समय देवीदेवतालाई अर्पण गर्ने गर्दछन् । आधुनिक अनुसन्धानले सोमरसमा च्याउको सारतŒव एउटा अवयवको रूपमा रहेको पुष्टि गरिसकेको छ । इस्लामहरूको लागि च्याउ जन्नतको एउटा व्यञ्जनको रूपमा वर्णित छ । यसरी सुरुमा च्याउ धनी तथा सम्भ्रान्तहरूको लागि मात्र विलासी भोजनको रूपमा परिचित थियो भने हाल यो गरिब आमजनमानसको लागि खाद्य तथा पोषण सुरक्षालगायत आर्थिक सुरक्षाको दृष्टिकोणले प्रकृतिको एउटा अनुपम उपहारको रूपमा देखिएको छ । परम्परागत रूपमा च्याउलाई वनस्पति भनिए तापनि पछिल्ला अध्ययन र अनुसन्धानबाट च्याउ वनस्पति र जन्तुभन्दा अलग्गै रहेको तथ्य प्रमाणित भइसकेको छ । ढुसी किराहरू पछिको दोस्रो ठूलो जीवहरूको समूह हो । पृथ्वीमा १५ लाख ढुसीमध्ये १ लाख ४० हजार च्याउका प्रजाति रहेको प्रारम्भिक अनुमान छ । यीमध्ये हालसम्म करीब १४ हजार च्याउ मात्र पत्ता लागेका छन्, जुन कुल अनुमानित संख्याको १० प्रतिशत मात्र हुन आउँछ । कुल १४ हजार च्याउमध्ये करिब ५० प्रतिशत अर्थात् ७ हजार प्रजाति विभिन्न तहसम्म खानयोग्य मानिन्छन् । यीमध्ये वैज्ञानिकहरूले अहिलेसम्म २सय प्रजाति जति प्रयोगशालामा उमार्न सफल भइसकेका छन् । संसारभरि नै १ सय जति आर्थिक दृष्टिकोणले र लगभग ६० जति व्यावसायिक हिसाबले खेति गर्न सफल देखिएका छन् भने १० प्रजाति विभिन्न मुलुकमा औद्योगिक स्तरमा खेती भइरहेका छन् । करिब २ हजार जति औषधीय गुण भएका छन् । विषालु च्याउको संख्या तुलनात्मक रूपमा अत्यन्तै न्यून (करिब १ प्रतिशत) पाइएको भए पनि यसको संख्या करिब १० प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ । यीमध्ये लगभग ३० प्रजाति जति मृत्युजन्य मानिन्छ । नेपालमा पनि करिब ११ सय जंगली च्याउ भेटिएका छन्, जसमध्ये १ सय ४७ जति खानयोग्य, ७३ जति औषधीय गुण भएका र १ सय जति विषालु प्रकृतिका छन् । प्राचीनकालदेखि नै च्याउ खाद्य र औषधिका रूपमा प्रयोग हुँदै आएको हुनाले च्याउ विषाक्तताको इतिहास पनि निकै पुरानो मानिन्छ । ऋग्वेद र अथर्ववेदजस्ता पौराणिक ग्रन्थहरूमा च्याउ विषाक्ततासम्बन्धी घटनाहरूको उल्लेख भएको पाइन्छ । रोमन सम्राट क्लाउडियस सिजर, चाल्र्स छैठौं, पोप क्लेमेन्ट सातौं, सिद्धार्थ गौतम (भगमान बुद्ध) जस्ता केही ऐतिहासिक महापुरुषको मृत्यु पनि च्याउ विषाक्ततासँग जोडिएको छ । पछिल्लो समयमा विश्वव्यापी रूपमा जंगली च्याउको संकलन, उपभोग र व्यापारमा भएको तीव्र वृद्धिका कारण च्याउ विषाक्तताका घटना पनि बढेर गएको छ । हाल विश्वका अधिकांश मुलुकमा जंगली च्याउको संकलन, उपभोग र व्यापार हुने गरेको पाइन्छ । जंगली च्याउको विश्वबजार वार्षिक सात अर्ब अमेरिकी डलर नाघिसकेको छ । जापान र पश्चिमी युरोपका देशहरू यसका प्रमुख आयातकर्ता मुलुक हुन् । च्याउ विषाक्तताका घटनाहरू जापान, अमेरिका, अस्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरूमा घट्ने गरेका भए तापनि अरू विकसित देशको तुलनामा पश्चिमी युरोपका देशहरूमा यसको तीव्रता बढी पाइएको छ, जहाँ वार्षिक ५० देखि १ सय जनासम्म मानवीय क्षति हुने गर्दछ । नेपालमा पनि जंगली च्याउको संकलन र उपभोगको परम्परा निकै पुरानो मानिन्छ । चेपाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार, मगर, राई, लिम्बू, थकाली, दनुवार, थारू आदि नेपालका परम्परागत प्रमुख च्याउभक्षी समुदायहरू हुन् । कमजोर सामाजिक­आर्थिक अवस्था, शिक्षा र चेतनाका कारण यी समुदायमा जंगली च्याउको संकलन र उपभोग सामान्य रहेको पाइन्छ । खाद्य स्रोत र स्वाद दवैका लागि प्रयोग गर्ने गरेका यी समुदायमा जंगली च्याउसम्बन्धी आ­आफ्नै किसिमका स्थानीय ज्ञान र मान्यताहरू रहेको पाइन्छ । विभिन्न ठाउँहरूमा जंगली च्याउलाई थप आय आर्जनको रूपमा समेत प्रयोग गर्दै आएको छ । हुन त हाम्रा प्रचुर आर्थिक सम्भावना बोकेका यार्सा, गुच्छी र रातो च्याउबाहेक अन्य च्याउले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँच पाउन सकेको छैन । एउटा अध्ययनअनुसार नेपालको विभिन्न भागमा खाद्यका रूपमा प्रयोग भइरहेका २१ थरीका च्याउ संसारको अरू देशमा पनि प्रयोग हुने गरेको छ । हाम्रो देशका अधिकांश भु­भागहरूमा यस्ता खालका अध्ययन­अनुसन्धान गर्न बाँकी नै छ । विशिष्ट भौगोलिक अवस्थिति र हावापानीको कारण नेपालमा धेरै प्रकारका च्याउका प्रजातिहरू हुन सक्ने विज्ञहरूको अनुमान छ । हरेक वर्ष मनसुनको सुरुवातसँगै नेपालको वन, पाखा, कान्ला, खोल्सा­खोल्सी र खेतबारीमा थरीथरीका च्याउहरू प्रशस्त मात्रामा उम्रिन्छन् । वर्षा्तको सुरुवातसँगै विषालु च्याउको सेवनबाट सिकिस्त हुने र मृत्युवरण गर्ने घटनाहरू सञ्चारमाध्यमहरूबाट निरन्तर रूपमा प्रकाशित भइरहेका हुन्छन् । तुलनात्मक रूपमा उच्च पहाडी क्षेत्रमा भन्दा मध्य पहाडी र तराई क्षेत्रमा विषालु च्याउहरू बढी मात्रामा पाइन्छन् । मुलुकभरि विषका घटनाहरूको दर्ता प्रक्रिया व्यवस्थित र नियमित नभएको हुनाले विषालु च्याउको सेवनबाट हुने दुर्घटनाको यथार्थ तथ्यांक छैन, तर पनि यसबाट हुने मृत्युदर वार्षिक ३०­५० जनाको हाराहारीमा रहेको अनुमान छ । धेरैजसो घटना विकट ग्रामीण क्षेत्रमा घट्ने भएको हुनाले यो संख्या अझै बढी हुन सक्ने सम्भावना देखिन्छ । हालै पाँचथर, खोटाङ, पर्वत, पाल्पा लगायत देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भइसकेको र दर्जनौं अस्पतालमा भर्ना भएका छन् । हुन त हरेक वर्ष देशका विभिन्न भागमा घट्ने यस्ता दर्जनौं दारुण घटनाको विस्तृत वैज्ञानिक अध्ययन–अनुसन्धान भएको पाइँदैन र वर्षैपिच्छे यस्ता घटनाहरू दोहोरिरहेका छन् । नियन्त्रणका लागि राज्यबाट गरिएका प्रयासहरू यथेष्ट र प्रभावकारी हुन सकेका छैनन्, जसले गर्दा घटनामा कुनै कमी आएको देखिँदैन । स्थिति अत्यन्त गम्भीर र विकराल छ । संसारमा ९५ प्रतिशत च्याउसँग सम्बन्धित मानवीय दुर्घटना यसको गलत पहिचानले गर्दा हुने गरेको तथ्यांक छ । खाने च्याउसँगै विषालु च्याउ पनि उम्रिन सक्ने भएकोले च्याउ टिप्दा अत्यन्तै होस पु¥याउनुपर्ने देखिन्छ । खान हुने र विषालु च्याउ छुट्याउने कुनै ठोस छिटो छरितो र भरपर्दो वैज्ञानिक प्रविधिको विकास भइनसकेकोले यसको लागि विशेष अनुभव र विज्ञताको नै आवश्यकता पर्दछ । सामान्य मानिससँग रहेका परम्परागत ज्ञान र प्रविधिको आधारमा मात्रै च्याउको सही पहिचान र उपभोग गर्न सुरक्षित मान्न सकिँदैन । नेपालको विभिन्न क्षेत्रमा खान हुने वा नहुने च्याउ छुट्याउन स्थानीय रूपमा विभिन्न विधि एवं मान्यताहरू प्रचलनमा रहेको पाइन्छ । ती कुनै पनि मान्यता तथा विधिहरू शतप्रतिशत सही नभएको, अधिकांशमा कुनै वैज्ञानिक आधार नरहेको, अत्यन्त खतरनाक र घातक छन् । केही मान्यता तथा विधिहरू यस प्रकार रहेका छन् । नुन पानीसँग उमाल्दा वा पकाउँदा, सुकाउँदा वा अचार बनाउँदा च्याउमा भएका विष जति सबै नाश भएर जान्छ । तर सबैखाले विष जाँदैन । – टिमुर वा चुक हालेर च्याउ पकाउँदा त्यसमा भएको विष नाश भएर जान्छ र खानको लागि सुरक्षित हुन्छ । तर सबै खाले विष जाँदैन । – विषालु जंगली च्याउसँग लसुनका केही पोटी वा प्याज राखेर पकाउँदा पोटी वा प्याजको रंग कालो हुन्छ । तरm सबै खाले विषमा हुँदैन । – पकाएको विषालु च्याउको तरकारीमा चाँदीको सिक्का वा चम्चा चोपेर हेर्दा सिक्का वा चम्चाको रंग कालो हुन्छ । तर, सबै खाले विषमा हुँदैन । – तितो र परपराउने स्वाद भएका च्याउ विषालु हुन्छन् । तर, सबै हुँदैनन् । – चिल्लो छाता भएको च्याउ खानलाई सुरक्षित हुन्छ । तर, सबै हुँदैन । – काट्दा वा भाँच्दा च्याउबाट दूध निस्कियो भने च्याउ विषालु हुन्छ । तर सबै हुँदैन । काठमा उम्रिने सबै च्याउ खान हुन्छन् र माटोमा उम्रिने च्याउ विषालु हुन्छन् । तर सबै हुँदैन । – कीरा वा अन्य जंगली जनावरले खाएको च्याउ खानलाई सुरक्षित हुन्छन् । तर सबै हुँदैन । – समूह­समूहमा उम्रेको च्याउ खान हुन्छ । एक्लै­एक्लै उम्रेको च्याउ विषालु हुन्छ । तर सबै हुँदैन । – कहिलेकाहीं विषालु सर्प वा अन्य जंगली जनावरले खाने च्याउलाई विषाक्त बनाइदिन्छ । तर ठोस वैज्ञानिक आधार भने छैन । जंगलबाट टिपेर वा संकलन गरेर ल्याएको च्याउमध्ये सबभन्दा पहिले केही भाग देउतालाई अर्पण गरेर बाँकी च्याउ पकाएर खाँदा सुरक्षित हुन्छ । तर, ठोस वैज्ञानिक आधार भने पाइँदैन । सामान्यतयाः विषालु च्याउ खाएर हुने मृत्युदर २० प्रतिशतसम्म देखिएको छ । प्रभावकारी विष व्यवस्थापनका लागि चाहिने दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको अभाव, पीडित समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्नु आदि विभिन्न कारणले नेपालमा विषालु च्याउ खाएर हुने मृत्युदर निकै बढी देखिएको छ । च्याउबाट हुने विषाक्तताका घटनाहरू राजधानीका केही प्रमुख अस्पतालमा १ देखि ४ प्रतिशत, पूर्वी नेपालका केही प्रमुख अस्पतालमा लगभग ५ प्रतिशत र चितवन जिल्ला अस्पतालमा १ प्रतिशतसम्म पाइएको छ । जबकि अमेरिकामा यस्ता घटनाहरू शून्य दशमलव ५ प्रतिशतभन्दा कम रहेको पाइएको छ । विभिन्न प्रजातिहरूमा हुने विषको रसायनिक संरचना फरक­फरक भएको हुनाले मानिसमा विषका असर पनि फरक­फरक देखिन्छन् । विषको गम्भीरता च्याउको भौगोलिक अवस्थिति, विषको मात्रा, च्याउको वंशाणुगत गुण र उम्रिने अवस्था आदिमा निर्भर गर्दछ । सामान्यतः बुढापाका, बच्चाहरू र अशक्त व्यक्ति वढी प्रभावित हुन्छन् । कम विषालु च्याउ खाने बित्तिकै (केही मिनेट भित्र) लक्षणहरू देखा पर्दछन् र पछि निको हुने सम्भावना धेरै हुन्छ भने कडा विष भएका च्याउ खाँदा लक्षणहरू अलि ढिलो देखा पर्दछन् तर घातक हुन्छ । दुई वा दुईभन्दा बढी जंगली च्याउ मिसाएर खाँदा कहिलेकहीँ लक्षणहरू चाँडै देखा परे पनि त्यस्ता लक्षणहरू गम्भीर प्रकृतिका प्राणनाशक हुन सक्छन् । संसारभरिमा १४ विभिन्न प्रकारका च्याउ विषाक्तता देखिएका छन् ।

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...